(१) ऐनको अनुसूची–१ मा उल्लिखित अपराधका अभियुक्तलाई प्रहरीले तहकिकातको सिलसिलामा खोज तलास गरी पक्रने भरमग्दुर प्रयास गर्नु पर्नेछ र पक्राउमा परेको अभियुक्तलाई अनुसूची–११ बमोजिम पक्राउ पुर्जी दिनु पर्नेछ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि पक्राउ गर्नुपर्ने मनासिब आधार नदेखिएको अवस्थामा पक्राउ नगरी अनुसन्धान गर्नु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम पक्राउ भएको अभियुक्तलाई प्रहरी हिरासतमा राख्नु परेमा ऐनको दफा १५ को रीत पु¥याई अनुसूची–१२ बमोजिमको थुनुवा पुर्जी दिई हिरासतमा राख्नु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम प्रहरी हिरासतमा रहेको अभियुक्तको हकमा हिरासतको अवधि भुक्तान नहुँदै तहकिकात पूरा गरी मुद्दा चल्ने वा नचल्ने निर्णय गर्न र अभियोग पत्र तयार गरी अदालतमा मुद्दा दायर गर्न लाग्ने समयलाई समेत ध्यानमा राखी मुद्दा दायर गर्नु पर्ने दिनको कम्तीमा तीन दिन अगावै मिसिल सरकारी वकील कार्यालयमा पठाउनु पर्नेछ ।
(५) अदालतमा दायर भएको ऐनको अनुसूची–१ मा उल्लिखित अपराधको
अभियुक्त जहिले सुकै गिरफ्तार भएमा पनि निजलाई बाटोको म्याद बाहेक चौबीस
घण्टाभित्र सकभर चाँडो प्रहरीले सरकारी वकीलमार्फत अदालतमा उपस्थित गराउनु
पर्नेछ । त्यस्तो अभियुक्तको बयान प्रहरी कार्यालयमा गराइ रहनु पर्दैन ।